इस्टिमेटले घर निर्माणको अनुमानित लागत निश्चित हुन्छ र यसबाट घरधनीलाई आफूसँग भएको बजेटले घर निर्माण सम्पन्न गर्न सकिन्छ वा थप रकमको व्यवस्था गर्नुपर्छ भन्ने कुराको निर्णय गर्न पनि सहज हुन्छ ।
घर बनाउनु सुरु गर्नुअघि नै योजना बनाउनु सबैभन्दा राम्रो हो । यदि पहिल्यै घर निर्माणको लागत अनुमान गर्न सकियो भने आफ्नो बजेटले कस्तो घर बनाउन सकिन्छ भनेर पहिल्यै यकिन हुन्छ ।
इस्टिमेटले घर निर्माणको अनुमानित लागत निश्चित हुन्छ र यसबाट घरधनीलाई आफूसँग भएको बजेटले घर निर्माण सम्पन्न गर्न सकिन्छ वा थप रकमको व्यवस्था गर्नुपर्छ भन्ने कुराको निर्णय गर्न पनि सहज हुन्छ । र, घर निर्माणका लागि आवश्यक बजेटको जोहो गर्न पनि पहिल्यै गरिएको लागत अनुमानले सहयोग पुर्याउँछ ।
निर्माण योजनामा हुने नक्शा डिजाइन, कंक्रिट, मेशिनरी, प्लास्टार आदिमा लाग्ने खर्च, निर्माण सामाग्रीको परिमाण र त्यसको खर्च सबैको गणना गरी सम्भावित लागत खर्च निकाल्नुलाई इस्टिमेट (अनुमान) भनिन्छ ।
निर्माण सम्पन्न हुँदा कुल लागत कति लाग्छ भन्ने मोटामोटी हिसाब थाहा पाउन सकिन्छ ।
लागत अनुमान गर्नुको उद्देश्य
निर्माण कार्य योजना र त्यसको कार्यान्वयन सुरु गर्नुअघि नै इस्टिमेट गर्नुका उद्देश्य र फाइदाहरु धेरै छन् । तीमध्ये केहि प्रमुख उद्देश्यहरुको चर्चा तल गरिएको छ ।
निर्माण कार्यमा जानको लागि गरीने सैद्धान्तिक निर्णयपूर्व प्रशासनको स्वीकृति
घर निर्माण कार्य सुरु गर्नुअघि सरकारी निकायबाट स्वीकृति लिनु अनिवार्य हुन्छ । अर्थात्, घरको नक्शापास नगरी निर्माण कार्य गर्नुको औचित्य रहन्न । नक्शा पास नगरी घर बनाएमा भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिन पाइँदैन ।
निर्माण सामाग्रीको छनौट
घरको डिजाइन गर्दा निर्माण कार्यमा प्रयोग हुने सामाग्री र प्रविधी समेत समेटेर डिजाइन तयार हुनुपर्छ । सहि निर्माण सामाग्रीको छनौटले निर्माण परियोजना सफलतापूर्वक सम्पन्न हुन सक्छ । सहि निर्माण सामाग्री र प्रविधी छनौटको निर्णय गर्न इस्टिमेटले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
प्रत्येक सामाग्रीको लागतमा हुने घटबढले तपाईले वैकल्पिक निर्माण सामाग्री छनौट गर्न सक्नुहुन्छ । जस्तो कि फ्लोरिङमा टायल वा मार्बल, रंगमा डिस्टेम्पर वा इमल्सन, किचेनमा सामान्य किचेन वा मोडुलार किचेन आदि । यसरी तुलना गरेर तपाईले निर्माण सामाग्री र फिनिसिङको काममा पैसा जोगाउन सक्नुहुन्छ ।
निर्माण सामाग्रीको आवश्यक परिमाण
समग्र निर्माण परियोजनामा लाग्न सक्ने निर्माण सामाग्रीको परिमाणबारे पूर्व अनुमान यसको अर्को उद्देश्य हो । यसले गर्दा अनुमानित निर्माण सामाग्री खरीद गरेर व्यवस्थित तरीकाले राख्न सकिन्छ । कतिपय अवस्थामा बजारमा निर्माण सामाग्रीहरुको आपूर्तिमा कमी आउने माग भएजति सप्लाई गर्न सामाग्री अपुग हुन सक्छ र स्वतः मूल्य वृद्धि हुने गर्छ । त्यसैले पहिल्यै इस्टिमेट गर्नु जरुरी हुन्छ ।
आवश्यक कामदार
निर्माण कार्यको वर्गीकरण अनुसार विभिन्न कामको लागि आवश्यक कामदारको संख्या र ती संख्याको आधारमा निर्माण कार्य सम्मन्न हुने अवधीबारे थाहा पाउन पनि इस्टिमेटले सघाउ पुर्याउँछ । लेवर, सिकर्मी, डकर्मी, मिस्त्री, प्राविधिक, दक्ष–अर्धदक्ष डकर्मी आदिको ज्यालाको सम्भावित हिसाब निकाल्न पनि इस्टिमेटेड कष्टको प्रयोग हुन्छ । यस्तै, जगको काम, ढलान, प्लास्टर, पेन्टिङ आदि कार्यमा लाग्ने कामदारको संख्या र ज्याला अन्दाज गर्न सकिन्छ ।
आवश्यक उपकरण, मेशिनरी
इस्टिमेटले गर्दा निर्माण आयोजनाको आकार र प्रकारको आधारमा निर्माण कार्य सम्पन्न गर्न आवश्यक उपकरण, मेशिनरीको परिमाण र खर्चको निर्धारण गर्न पनि मद्दत पुग्छ । यसमा विभिन्न उपकरणको अनुमानित मर्मत खर्च पनि समेट्नुपर्छ ।
समयसीमाको योजना
घर निर्माण गर्दा संरचना निर्माणका विभिन्न चरणहरु रहेका हुन्छन् । हरेक चरणमा विभिन्न विधाका कामदार, लागत लाग्ने हुँदा त्यसको आधारमा समग्र घर निर्माण सम्पन्न हुने समयावधी गणना गर्न इस्टिमेटले ठूलो सहयोग पुर्याउँछ । निर्माण कार्य राम्रोसँग सम्पन्न गर्नको लागि हरेक विधाको कामको लागि एउटा समयसीमा छुट्याउनु जरुरी हुन्छ ।
अन्तिम निर्णय
सबैकुरा इस्टिमेट गरीसकेपछि निस्कने सम्भावित अन्तिम कुल लागत पछि घरधनीले अन्तिम निर्णय लिनुपर्छ । आफ्नो बजेट अनुसार नै इस्टिमेट निस्क्यो कि बजेटमैत्री बनाउन घरको डिजाइन/विशेषतामा केहि परिमार्जन गर्ने कि भनेर निर्णय लिनुपर्छ ।
लागत नियन्त्रण
सबै कार्यमा प्रत्यक्ष असर गर्ने सबैभन्दा महत्वपूर्ण पक्षमध्ये बजेट पनि एक हो । इस्टिमेटको मुख्य उद्देश्य भनेको लागत नियन्त्रण गर्नु हो । यदि तपाईसँग कुनै इस्टिमेट छैन भने निर्माण कार्यको क्रममा लागत बढेको कुराको ज्ञान पनि हुदैन र अनियन्त्रित तवरले बजेट खर्च हुन्छ । यस्तै बिना इस्टिमेट कामगर्दा बजेटको अभावले बिचैमा निर्माण कार्य रोक्नुपर्ने विषम परिस्थिती आउन सक्छ ।
मूल्याङ्कन
सम्पत्तीको मूल्याङ्कनको लागिपनि इस्टिमेट धेरै उपयोगी हुने गर्छ । आफ्नो सम्भावित लागत अनुमान गरेपछि उक्त प्रोपर्टीको निर्माण सम्पन्न पश्चातको उचित बजार भाउसँग आफ्नो लागत तुलना गर्न सकिन्छ ।