महानगरका बजेटले शहरी व्यवस्थापन, व्यवस्थित बसोबास, पार्क निर्माण, शहरी सौन्दर्यता, कर असुली नीतिलगायतमा कस्तो व्यवस्था गरेका छन् ?
काठमाडौं । देशका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि बजेट ल्याइसकेका छन् । सबैभन्दा ठूलो आकारको बजेट काठमाडौंको छ भने सबैभन्दा सानो वीरगञ्ज महानगरको रहेको छ ।
६ महानगरपालिकाले कुल ५२ अर्बभन्दा बढी रकमको बजेट सार्वजनिक गरेका छन् । बजेटमा शहरी पूर्वाधार निर्माण र शहर सौन्दर्यीकरणलाई विशेष प्राथमिकता दिइएको देखिन्छ ।
महानगरका बजेटले शहरी व्यवस्थापन, व्यवस्थित बसोबास, पार्क निर्माण, शहरी सौन्दर्यता, कर असुली नीतिलगायतमा कस्तो व्यवस्था गरेका छन् ? हामी तपाईंलाई विस्तृतमा जानकारी गराउन गइरहेका छौं ।
काठमाडौं महानगरः २५ अर्ब ५४ करोड
कुरा सुरु गरौं काठमाडौं महानगरपालिकाबाट । महानगरकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको बजेट २५ अर्ब ५४ करोड ७८ लाखको छ । जसमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लााख र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख बिनियोजन गरिएको छ ।
काठमाडौं महानगरले शहरी पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको देखिन्छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ कुल ७ अर्ब ३४ करोड ६२ लाख बजेट बिनियोजन गरिएको छ, जुन रकम कुल बजेटको करिव एक तिहाई हुन आउँछ ।
बजेटमा शहरी व्यवस्थापन, धुलोरहित काठमाडौं, पार्क निर्माण, उज्यालो शहरदेखि शहरी सौन्दर्यसम्म पूर्वाधार प्राथमिकतामा छन् । आगामी वर्ष महानगरभित्र डिपिआर भइसकेका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरी ‘धुलोरहित काठमाडौं’ योजना कार्यान्वयन गर्ने उपप्रमुख डंगोलले घोषणा गरिन् । यो कार्यक्रमका लागि मात्रै एक अर्ब बिनियोजन गरिएको छ ।
महानगरभित्रका प्रमुख सडकमा फाइवर तथा अन्य केवल विस्तारका लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी शेयर इन्फ्रास्ट्रक्चरको अवधारणा अनुरुप काम अगाडि बढाउन १० करोड बजेट विनियोजन गरिएको छ ।
महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड छुट्याइएको छ ।