कोभीड महामारीका कारण अर्थतन्त्र शिथिल भए पनि गत आर्थिक बर्षमा ठूला घरजग्गा कारोबारमा खासै ठूलो गिरावट देखिएको छैन् । आर्थिक वर्ष ०७६/७७ मा देशभर १० करोड रुपैयाँ मूल्यभन्दा माथिका ८७ वटा घरजग्गा किनबेच भएका छन् जसको कुल थैली रकम १६ अर्ब १० करोड ३७ लाख रुपैयाँ रहेको छ ।
काठमाडौं । कोभीड महामारीका कारण अर्थतन्त्र शिथिल भए पनि गत आर्थिक बर्षमा ठूला घरजग्गा कारोबारमा खासै ठूलो गिरावट देखिएको छैन् ।
आर्थिक वर्ष ०७६/७७ मा देशभर १० करोड रुपैयाँ मूल्यभन्दा माथिका ८७ वटा घरजग्गा किनबेच भएका छन् जसको कुल थैली रकम १६ अर्ब १० करोड ३७ लाख रुपैयाँ रहेको छ ।
यो कारोबार संख्या अघिल्लो आर्थिक बर्ष अर्थात् २०७५/७६ को जति नै हो । तर, कुल थैली रकममा भने झण्डै चार अर्व रुपैयाँको गिरावट देखिन्छ ।
आर्थिक वर्ष ०७५/६७ मा पनि १० करोड मूल्यभन्दा माथिका ८७ वटा घरजग्गा किनबेच भएका थिए । जसको कुल थैली रकम १९ अर्ब ८२ करोड ९० लाख रुपैयाँ थियो ।
विश्वभरी फैलिएको कोभीड महामारीका कारण नेपालमा ११ चैतदेखि लकडाउन गरिएको थियो । लकडाउन सुरु भएसँगै बन्द भएका मालपोत कार्यालय २५ जेठबाट आंशिक रुपमा खुला भएका थिए । घरजग्गा कारोबारीका अनुसार अनुसार अढाई महिनासम्म मालपोत कार्यालयहरु बन्द हुँदा पनि ठूला कारोबारको संख्या नघट्नु सकरात्मक हो ।
आधाजसो कारोबार डिल्लीबजार मालपोतबाट !
मुलुकभर भएको १० करोड मूल्यमाथिको कारोबारमा काठमाडौं उपत्यकाको बाहुल्यता छ । भूमि विभागका अनुसार गत वर्ष भएका ८७ ठूला घरजग्गा किनबेचमध्ये ६६ वटा उपत्यकाका कारोबार हुन् ।
देशभर रहेका मालपोत कार्यालयहरुमध्ये सबैभन्दा ठूलो कारोबार डिल्लीबजार मालपोत कार्यालयबाट हुँदै आएको छ । गत वर्ष डिल्लीबजार मालपोतबाट १० करोड मूल्यमाथिका ४२ वटा घरजग्गा किनबेच भएका छन् जसको कुल थैली रकम ९ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष डिल्ली बजारबाट १२ अर्ब ३७ करोड थैली रकम राखेर ४५ कारोबार भएका थिए ।
ललितपुरको लगनखेल मालपोतबाट गत बर्ष नौवटा १० करोडमाथिका घरजग्गा किनबेच भएका छन् जसको थैली रकम एक अर्ब ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष लगनखेलबाट २ अर्ब थैली रकम राखिएका ११ वटा ठूला कारोबार भएको विभागको तथ्यांकले देखाउँछ ।
गत वर्ष चावहिल मालपोतबाट ४, कलंकी मालपोतबाट ६ र भक्तपुरमा ३ वटा कारोबार भएका छन् । यस्तै, साँखुमा १४ करोड र मनमैंजुमा १२ करोड मूल्यको एक/एक टुक्रा जग्गा किनबेच भएको छ ।
काठमाडौं बाहिरका कारोबार औद्योगिक क्षेत्रमा !
सामान्यतयाः काठमाडौंमा घरजग्गाका ठूला कारोबार हुने गरे पनि पछिल्ला बर्षहरुमा काठमाण्डौ बाहिरका मुख्य औद्योगिक क्षेत्रहरुमा ठूला कारोबार भइरहेका छन् । यस्ता कारोबारको प्रयोजन आवासका लागि भन्दा पनि उद्योग स्थापनाका लागि हुने गरेको देखिन्छ ।
बिराटनगरमा ७१ करोड रुपैयाँ थैली राखेर २ वटा ठूला जग्गा किनबेच भएका छन् । धनुषामा ३५ करोड मूल्यको एउटा जग्गा किनबेच भयो । रुपन्देहीमा किनबेच भएका २ वटा जग्गाको थैली रकम ६२ करोड २१ लाख राखिएको छ । यस्तै, पर्सामा ३५ करोड मूल्यका २ वटा जग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।
गत बर्ष पोखरामा ८५ करोड ८२ लाख मूल्यको थैली राखेर ५ वटा घरजग्गा किनेबच भएका छन् भने महेन्द्रनगरमा १५ करोडको एउटा, बाँकेमा १५ करोडको एउटा, कैलालीमा ४७ करोडको ३ वटा, बारामा ३३ करोडको ३ वटा र सुनसरीमा १० करोड मूल्यको एउटा कारोबार भएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा काभ्रेमा १३ करोड थैली राखेर एउटा जग्गा किनबेच भएको थियो । यो वर्ष काभ्रेमा ठूलो कारोबार भएन । दाङमा ६६ करोड मूल्यका २ वटा कारोबार भएका थिए । यो वर्ष दाङ जिल्ला पाँच नम्बर प्रदेशको राजधानी तोकिएको छ । पछिल्लो समय दाङमा सिमेन्ट लगायत उद्योग सञ्चालन गर्नका लागि ठूला जग्गा खरिद गर्ने बढेका छन् ।
ठूला कारोबार जग्गामात्रै, भवनको संख्या सून्य !
भूमि विभागका अनुसार १० करोड मूल्यभन्दा बढीको कारोबारमा जग्गाको हिस्सा बढी रहेको देखिन्छ । १० करोडभन्दा बढी मूल्यका घर तथा भवनको कारोबार लगभग शुन्य सरह छ । उद्योग, होटल, कृषि लगायत विभिन्न प्रयोजनका लागि ठूलो क्षेत्रफलका जग्गा किनेबच हुँदै आइरहेको छ । कतिपयले रियलस्टेटमा लगानी सुनिश्चित देखेर प्लटिङ वा हाउजिङ निर्माण गरेर बिक्री गर्नका लागि पनि ठूला जग्गामा लगानी गरिररहेको रियलस्टेट डेभलपर बताउँछन् ।