आजकल बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण नलिई घर खरिद गर्ने वा बनाउने कल्पना सायद कमैले गर्न सक्छन् । जीवनको ठूलो बित्तीय जोहो गर्नुपर्ने भएकाले प्रायः सबैलाई बैंकमा नधाई घर बनाउन कठिन हुन्छ ।
बैंकबाट ऋण लिने कुरामा पनि सीप हुन जरुरी हुन्छ । यदि तपाईंले ऋण लिने प्रकृयामा पर्याप्त अध्ययन गर्नुभयो भने ठूलो रकम जोगाउन सक्नुहुन्छ ।
के के कुरामा ध्यान दिँदा ऋणको भार कम पर्छ भन्ने कुरामा आज हामी तपाइलाई केही जानकारी दिँदै छौं ।
- तपाईंले ऋण लिनुअघि बैंक र वित्तीय संस्थाको आधार ब्याजदर (बेस रेट) तुलना गर्नुहोस् । प्रायः साउनपछि बैंकहरूले घरकर्जाका विभिन्न स्किम (योजना) निकालिरहेका हुन्छन् । स्किम ल्याएको बेलामा तुलनात्मक रूपमा कम मूल्यमा परिन्छ । अरू समयमा पनि कुन बैंकको बेस रेट कम छ, त्यो हेर्न सकिन्छ । कम बेस रेट भएको बैंकबाट ऋण लिइयो भने कम ब्याज दरमा ऋण पाउन सकिन्छ । ईएमआई कम गर्न पनि बेस रेट कम भएको बैंकमा जानुपर्छ । यसरी पनि पैसा बचत गर्न सकिन्छ ।
- नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले कर्तिक १ देखि घरकर्जामा स्थिर र परिवर्तित ब्याजदर लागू गरेका छन् । बैंक अनुसार स्थिर ब्याजदरका स्किम पनि फरक फरक छन् । तपाईंले बैंकहरुले प्रदान गरिरहेको स्थिर ब्याजदरको तुलना गरेर सबैभन्दा कम स्थिर ब्याजदर भएको बैंकबाट ऋण लिनुभयो भने पनि रकम बचत गर्न सक्नुहुन्छ ।
- हरेकजसो बैंकले ऋण प्रवाह गर्दा सामन्यतया सेवा शुल्क लिन्छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेवा शुल्कमा क्याप लगाइदिएको छ । अहिले ‘क’ बर्गको बैंकले बढीमा ०.७५ प्रतिशत, ‘ख’ बर्गका विकास बैंकले १ प्रतिशतभन्दा बढी शुल्क लिन पाउँदैनन् । तपाईंले बैंकमा सेवा शुल्कमा बार्गेनिङ गर्न सकिन्छ । बैंकको ‘प्रोसेसिङ फी’ घटाउन सकेमा पनि पैसा बचत हुन्छ । प्रमाणपत्र र क्रेडिट हिस्ट्रीमा मजबुत भएको खण्डमा पनि बैंकसँग ब्याजदर घटाउन बार्गेनिङ गर्न सकिन्छ । ब्याज ०.२५ प्रतिशत मात्र सेवा शुल्क घटाउन सके पनि मोटो रकम बचत हुन्छ ।
- जतिसक्दो धेरै डाउन पेमेन्ट गर्न सकियो, लोनको रकम त्यति नै कम हुन आउँछ । यसले ईएमआई कम गर्छ नै, बैंकलाई ब्याजको रुपमा तिर्नुपर्ने मोटो रकम पनि बचत हुन्छ ।
- तोकिएको समयअघि नै ऋणको आकार घटाउन सकियो भने फाइदा हुन्छ । यसो गर्दा ऋण र ब्याजको बोझ कम हुन्छ । ५० लाख रुपैयाँभन्दा तलको ऋणमा अतिरिक्त शुल्क लाग्दैन । तर, ५० लाख रुपैयाँभन्दा माथिको ऋणमा प्री–पेमेन्ट ऋण रकमको दुई प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्छ ।
- सबैभन्दा बढी बचत ईएमआईबाट हुन्छ । ईएमआईको अवधि कम गर्न सकेको खण्डमा ब्याजका रूपमा बुझाउने मोटो रकम बचत हुन्छ ।
- कतिपय बैंकले महिलालाई ऋण दिँदा सेवा शुल्क, प्रोसेसिङ फी र ब्याज दरमा छुट दिइरहेका हुन्छन् ।
- बैंक र वित्तीय संस्थाले चाडपर्व, वार्षिकोत्सव, रजत जयन्तीलगायत अवसरमा कर्जामा ब्याज दर, सेवा शुल्कमा छुट दिइरहेका हुन्छन् । बैंकले स्किम ल्याएको बेलामा ऋण लिँदा पनि पैसा बचत गर्न सकिन्छ ।
- बजारमा विभिन्न प्रकारका घरकर्जा पाइन्छन् । कतिपय बैंकले बलुनिङ, रिभर्स बेलुनिङ घरकर्जा पनि दिइरहेका छन् । यो ऋण तिर्ने गतिलो विकल्प हुन सक्छ । यो सुविधाले पनि ब्याज दर कम पर्न जान्छ ।