पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा घरजग्गा एजेन्टको काम गर्नेहरूको संख्या बढिरहेको छ । युवा पुस्ता पनि यस पेशातिर आकर्षित भइरहेको छ ।
रियल स्टेट संसारभर धनाढ्य उत्पादन गर्ने सबैभन्दा बलियो क्षेत्र हो । त्यसैले विकसित मुलुकमा रियल स्टेट उद्योगकै रूपमा प्रतिष्ठित छ । तर, नेपालमा घरजग्गा कारोबार गर्ने विकासकर्ता वा कारोबारमा सहजीकरण गर्ने एजेन्टलाई हेर्ने नजर फरक छ ।
यसको एउटै कारण हो– रियल स्टेट एजेन्टले व्यावसायिक रूपमा काम गर्न नसक्नु ।
यदि विश्वनीय ढंगले नियम–कानुन पालना गरेर कारोबार गर्ने हो भने रियल स्टेट एजेन्टको पेशा नेपालमा पनि प्रतिष्ठित बन्न सक्छ । पछिल्लो समय दर्ता गरेर व्यावसायिक रूपमा काम गर्ने एजेन्टको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
उच्च शिक्षा प्राप्त, संसारभरका रियल स्टेट उद्योगका राम्रा अभ्यासलाई अध्ययन गरेर थुप्रै एजेन्ट संस्थागत रूपमा नेपाली बजारमा काम गर्न थालेका छन् ।
रियल स्टेट ब्रोकर वा एजेन्ट पेशामा सफल हुन कसरी काम गर्ने ? स्थापित ब्रोकरहरूले केही उपाय सुझाएका छन् ।
दर्ता गरेर मात्र कारोबार गर्ने
खर्बौंको लगानी भएको घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न निश्चित नीति र कानुनको अभाव छ । नेपालमा अधिकांश एजेन्ट स्वतन्त्र रूपमा घरजग्गा एजेन्टको काम गरिरहेका छन् ।
उनीहरू व्यवसाय दर्ता नगरी कारोबार गर्ने र कर पनि नतिर्ने हुँदा एकातर्फ सरकारले ठूलो राजस्व गुमाइरहेको छ भने अर्कोतर्फ लगानीकर्ता मारमा परेमा कÞानुनी लडाइसमेत कठिन हुने अवस्था छ ।
त्यसैले नेपाल सरकारका सम्बन्धित निकायमा आफ्नो व्यवसाय दर्ता गर्नुपर्छ । यसरी घरजग्गा कारोबार गर्दा एजेन्टले आफ्ना ग्राहकलाई कानुनसम्मत उचित सेवा प्रदान गरी सुरक्षित कारोबार गर्न सक्छन् ।
पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा घरजग्गा एजेन्टको काम गर्नेहरूको संख्या बढिरहेको छ । युवा पुस्ता पनि यस पेशातिर आकर्षित भइरहेको छ ।
अहिले नेपालमा रियल स्टेट कम्पनी नै खडा गरी कारोबार गर्नेहरूको संख्या बिस्तारै बढ्दै गएको नेपाल भूमि रियल स्टेट एजेन्सीका सञ्चालक विक्रम लामा बताउँछन् ।
‘प्रविधिको सही उपयोग गर्ने हो भने थोरै मात्रै मेहनत गर्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन्, ‘त्यसैले पछिल्लो समय युवा पुस्ता घरजग्गा एजेन्टको काममा आकर्षित हुन थालेका छन् ।’
विदेशबाट यही पेशाको अनुभव बटुलेर नेपाल फर्केर काम गर्ने युवा जमात बढेको लामा सुनाउँछन् । ‘ऊर्जाशील भई काम गर्ने, पारदर्शी रही राम्रो परामर्श दिने एजेन्टले कम्पनी दर्ता गरेर कारोबार गर्दा बजारले पनि विश्वास गर्ने वातावरण बन्छ,’ उनी भन्छन्, ‘यसले एजेन्टको व्यापार बढाउन मद्दत गर्छ ।’
पारदर्शिता कायम गर्ने
एजेन्टले घरजग्गाको क्षेत्रफल, प्रकृति, स्वामित्व, कानुनी कागजात, सेवासुविधा र बजार भाउका विषयमा पारदर्शी भएर यथार्थ विवरण खरिदकर्तालाई दिनुपर्ने प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधान बताउँछन् ।
‘आफूले देखाइरहेको घरजग्गामा कुनै कानुनी अड्चन भएमा त्यसको जानकारी खरिदकर्तालाई सुरुवातमै गराउनु असल एजेन्टको धर्म हो,’ प्रधान भन्छन्, ‘एजेन्टले वास्तविक मूल्यबारे पनि पारदर्शिता अपनाउनुपर्छ । त्यसबारे खरिदकर्तालाई जानकारी गराउनुपर्छ ।’
यसो गर्दा एजेन्टप्रति विश्वास बढ्ने र अरू ग्राहकसमेत सिफारिस भएर आउने सम्भावना बढ्ने प्रधान बताउँछन् । भन्छन्, ‘जो एजेन्ट पारदर्शी हुन्छ र ठगी गर्ने मनसाय राख्दैन, उसैले छिटोभन्दा छिटो आफूलाई भरपर्दो एजेन्टका रूपमा स्थापित गराउन सक्छ ।’
पहिले परामर्शदाता, अनि मात्र एजेन्ट
एजेन्टले कमिसनको लोभमा आफ्नो धरातल भुलेर छिटोभन्दा छिटो घरजग्गा बिक्री वा खरिद गराउनेतिर लाग्नु राम्रो नभएको प्रधान बताउँछन् ।
‘उपलब्ध घरजग्गा र बजेटको सीमिततालाई आधार मानेर आफ्ना ग्राहकलाई धेरैभन्दा धेरै सूचना दिनुपर्छ,’ उनी भन्छन्, ‘ग्राहकले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनु हरेक एजेन्टको कर्तव्य हो ।
‘एजेन्टले ठग्लान् कि’ भन्ने चिन्ता धेरै ग्राहकमा हुन्छ । सफल एजेन्ट बन्न सुरुमा राम्रो परामर्शदाता हुनु अत्यावश्यक छ ।’
नेपालमा घरजग्गा एजेन्टलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । राम्रो परामर्श गर्ने एजेन्टले सर्वसाधारणको यो पेशालाई हेर्ने नजर परिवर्तन गर्न सक्ने एक्सेस रियल स्टेटका प्रबन्ध सञ्चालक राजेश श्रेष्ठ बताउँछन् । ‘ग्राहकलाई अधिकतम सम्पत्ति छनोटको सुविधा दिएर एजेन्टले गुणस्तरीय सेवा दिन सक्छन्,’ उनी भन्छन् ।
घरजग्गा खरिदकर्ताको आवश्यकता र क्षमता पहिचान गरी त्यहीअनुसार सल्लाहसुझाव दिँदा एजेन्टलाई छिट्टै सफलता हात लाग्ने नेपाल रियल स्टेट अर्गनाइजेसनका उपाध्यक्ष प्रसन्न धरेल बताउँछन् ।
‘खरिद गर्न चाहेको एरिया, त्यहाँको माटो, हावापानी, बस्ती विकास, सेवासुविधाको राम्रो अध्ययन गर्नुपर्छ,’ स्मार्ट डी स्टेटका सञ्चालकसमेत रहेका धरेल भन्छन्, ‘भाउ मिलाउन बिक्रीकर्तालाई सहमत गराउने, प्रशस्त नगद नभएका ग्राहकलाई घरकर्जाका लागि सहजीकरण गरिदिने आदि काममा समेत एजेन्टले सहयोग गर्नुपर्छ ।’
प्रविधिको उचित प्रयोग
अहिलेका एजेन्टले बढीभन्दा बढी प्रविधि प्रयोग गरी खÞरिदकर्ता र बिक्रीकर्तालाई राम्रो सेवा प्रदान गर्न सक्छन् । खरिदका लागि सम्पर्कमा आएका सम्पत्तिको उचित रेकर्ड राखी आफ्ना ग्राहकका प्राथमिकता र जिज्ञासाको व्यवस्थापन गर्न सकिन्छ । घरजग्गाका फोटो/भिडियो आकर्षक रूपले वेबसाइट वा सामाजिक सञ्जालमा अपलोड गर्ने, विभिन्न मोबाइल प्रयोग गर्ने रियल स्टेट एजेन्टको संख्या बढिरहेको छ । कोरोना महामारीपछि त यो झनै व्यापक रूपमा बढेको छ । त्यस्तै, सामाजिक सञ्जालमा विभिन्न समूह प्रयोग गरी एजेन्टले विज्ञापन गर्न सक्छन् ।
‘सही समयमा सही कामका लागि सही प्रविधि प्रयोग गर्दा सञ्चालन खर्च घट्छ,’ प्रोपर्टी ३६० नेपालका सञ्चालक सन्तोष प्रधान भन्छन्, ‘थोरै समयमा धेरै कारोबार गरी राम्रो कमाइ गर्न सकिन्छ ।’
सम्बन्ध र सञ्जाल विस्तार गर्ने
सम्पत्ति खरिद–बिक्रीका लागि आफूलाई सम्पर्क गर्ने सबै ग्राहकलाई एक–एक गरी सेवा दिन सक्ने अवस्था सधैँ नरहने एक्सेस रियल स्टेटका सञ्चालक राजेश श्रेष्ठ बताउँछन् ।
‘हरेक एजेन्टले आफ्नो सञ्जाल फराकिलो बनाउनु अत्यावश्यक हुन्छ,’ उनी भन्छन्, ‘आफूले कारोबार गर्ने कार्य क्षेत्रभित्र नपरेमा आफ्नो सञ्जालमा रहेका एजेन्टबाट सहयोग माग्न सकिन्छ । यसो हुँदा सम्पर्कमा आउनेलाई फर्काउनु पर्दैन । त्यसका लागि अनुभवी एजेन्टसँग राम्रो सम्बन्ध बनाउनुपर्छ ।’
घरजग्गा एजेन्ट व्यवसाय सञ्जाल र सम्बन्धमै निर्भर हुन्छ । आफ्ना साथीभाइ, नातागोतामार्फत व्यवसायी र सम्भावित खरिदकर्ता–बिक्रीकर्ताको एउटा सञ्जाल बनाउनुपर्ने एक्सेस रियल स्टेटका सञ्चालक श्रेष्ठ बताउँछन् । ‘त्यसमा स्थापित हुन सके, जुनसुकै एजेन्ट सफल हुन सक्छ,’ उनी भन्छन् ।
राम्रो परामर्श सेवाबाट ग्राहकलाई सन्तुष्ट बनाउन सकेमा एजेन्टले यही सञ्जालबाटै प्रशस्त ग्राहक पाउन सक्ने श्रेष्ठ बताउँछन् । भन्छन्, ‘यसरी एजेन्टले आफ्नो व्यवसाय बढाउन सक्छ ।’