अपार्टमेन्टमा खुला ठाउँका रुपमा बाल्कोनी हुन्छ । त्यही बाल्कोनीलाई पनि आफुले अधिकतम उपयोग गर्ने हो । यदि तपाईंले चाहानुभयो भने सानो बाल्कोनी पनि चिटिक्क सजाउन सक्नुहुन्छ । बँगैचा बनाएर सुस्ताउने ठाउँ बनाउन सकिन्छ
घर होस् वा अपार्टमेन्ट, आवास चिटिक्क पार्ने सबैको इच्छा हुन्छ । घरमा ठूलो कम्पाउन्ड हुन्छ । त्यहाँ चिटिक्कको बँगैचा बनाउन सकिन्छ । सुस्ताउने ठाउँ बनाउन पनि सकिन्छ । तर, अपार्टमेन्टमा व्यक्तिगत रुपमा प्रयोग गर्न पाउने गरी खुला ठाउँ हुँदैन् ।
अपार्टमेन्टमा खुला ठाउँका रुपमा बाल्कोनी हुन्छ । त्यही बाल्कोनीलाई पनि आफुले अधिकतम उपयोग गर्ने हो । यदि तपाईंले चाहानुभयो भने सानो बाल्कोनी पनि चिटिक्क सजाउन सक्नुहुन्छ । बँगैचा बनाएर सुस्ताउने ठाउँ बनाउन सकिन्छ ।
तपाईंले आफ्नो अपार्टमेन्टमा भएको बाल्कोनी वा बरन्डामा आफुले सोचेँजस्तो बिरुवाहरु लगाउन सक्नुहुन्छ ।
के तपाईं अपार्टमेन्टबाट साँझ बिहानको घाम हेर्न चाहनुहुन्छ वा धोएको कपडाहरु सुकाउन चाहनुहुन्छ, तर ठाउँ साँघुरो भएर सबै थोक गर्न पाइरहनु भएको छैन ? यदि हो भने तपाईंले त्यसको चिन्ता गर्नु आवश्यक छैन ।
ठाउँ सानो भएर त्यति फरक पर्दैन, तपाईंले आफ्नो सानो बरन्डाको लागि रचनात्मक तरिकाले सदुपयोग गर्नसक्नु हुन्छ ।
सानो बरन्डाको सजावटका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।
गोपनियताबारे सोच्नुहोस्
अपार्टमेन्ट कम्प्लेक्सहरु प्रायः शहरको बिचमा बनेको हुन्छन् । भवनहरु एकआपसमा नजिक रहने हुनाले गोपनीयताको कमी महशुस हुन सक्छ । आफ्नो बाल्कोनी र छिमेकीको बाल्कोनी एकदम नजिक हुँदा गोपनियताको अभाव हुन सक्छ ।
बाल्कोनीमा बसेर केही काम गर्दा छिमेकीको नजर पर्ने र कतिपय कुराकानी गर्दा छिमेकीले सुन्ला कि भन्ने डर रहने हुँदा त्यसमा विचार पुर्याउन जरुरी छ ।
यसका लागि बाल्कोनीमा पातलो पर्दा राख्न सकिन्छ । यसले गर्दा बरण्डा सुन्दर पनि देखिन्छ र गोपनीयता पनि कायम रहन्छ ।
आफ्नो सुरक्षाको विचार गर्नुहोस्
फ्ल्याटहरु सामान्यतया घरभन्दा सुरक्षित मानिन्छ । किनभने, कोही त्यस्तो व्यक्ति गलत नियतले आएको छ भने तपाईंको फ्ल्याटसम्म पुग्न त्यति सजिलो छैन । अझै माथिल्लो तलामा छ भने चिन्ताको विषय नै हुँदैन ।
तर, तल्लो तल्लामा बस्ने मानिसहरुलाई आफ्नो बरन्डाको रक्षा गर्नु आवश्यक छ । विशेषगरि, बिजुलीको पोल वा भवनको छेउमा भएका रुखहरु जोडिएको भए डर हुन्छ ।
धेरैजसो बिल्डर्सले यो विषयलाई ध्यानमा राख्छन् र बरन्डालाई सुरक्षित राख्नका लागि भुइँदेखि छतसम्म ग्रिलको उपयोग गर्ने गरेका छन् । तपाईले सधैँ आफ्नो सुरक्षाबारे सोच्नुपर्छ । यसरी ग्रील राख्दा दुर्घटना र चोटपटकको जोखिम पनि रहँदैन ।
टायल वा रङबीच छनोट गनुहोस्
मथिका पक्षहरुमा काम गरेपछि अब बाल्कोनीको सजावटको विषय पनि आउँछ । बाल्कोनीमा टायल राख्ने वा रंग लगाउने भन्ने कुरामा दुबैका फाइदा बेफाइदा विचार गरेर निर्णय गर्न सकिन्छ । रंग लगाउँदा पानीले खराब नगर्ने र चाँडै खुइलिएर नजाने तथा दाग नबस्ने खालको गुणस्तरीय रंगको प्रयोग गर्नुपर्छ । रंगको बदलामा आफ्नो इच्छाअनुसार टायल पनि लगाउन सकिन्छ ।
लुगा धुने ठाउँ बनाउनुहोस्
फ्ल्याटमा बस्ने धेरै मानिसहरु आफ्नो लुगा धुने र सुकाउनका लागि पहिले नै ठाउँ बनाउनुपर्छ । बाहिर वा बरन्डाभित्र लुगा धुने र सुकाउनका लागी डोरीहरु टाँग्ने गर्दा बरन्डा अलि नराम्रो देखिन सक्छ र ठाँउ साँघुरो पनि हुन पुग्छ ।
केही हरियाली थप्नुहोस्
यदि तपाईं भर्खरै एउटा सानो बरन्डा भएको फ्ल्याटमा सर्नुभएको छ भने तपाईलाई एउटा ठुलो बगैंचा भएको घरमा बसेको कुरा याद आउन सक्छ । तर, यसको मतलब यो होइन कि तपाई सीमित ठाँउमा केही बिरुवाहरु पनि लगाउन सक्नुहुन्न । राम्रोसँग व्यवस्थापन गरी केहि सिर्जनात्मक हिसाबले काम गरेमा सानो ठाँउमा पनि तपाईले हरिया वनस्पति, फुलहरु रोप्न सक्नुहुन्छ ।
भान्सामा प्रयोग हुने सागपात पनि लगाउन सकिन्छ । यस्तै, तपाईंले घिउकुमारी अथवा मनी प्लान्ट पनि लगाउन सक्नुहुन्छ, जसलाई पर्याप्त घामको प्रकास आवश्यकता पर्दैन र लामो समयसम्म ताजा रहन सक्छन् ।
पर्खालको उपयोग गर्नुहोस्
बाल्कोनीको भुईमा बोटबिरुवा, र्याक लगायत राख्दा ठाँउ साँघुरो बनाउने र फोहोर बनाउन सक्ने हुँदा तपाईले सानो पर्खालको निर्माण गर्न सक्नुहुन्छ । भुईमा गमला राख्नुको बदलामा पर्खालमा झुण्ड्याउ सकिने व्यवस्था गरेमा फोहोर पनि हुदैन र ठाँउ पनि फराकिलो देखिन्छ ।
बस्ने ठाँउको व्यवस्थापन गर्नुहोस्
यदि तपाई बाल्कोनीमा बसेर साझ बिहानको चिया पिउन रुचाउनुहुन्छ वा पानी परेको समयमा बरण्डामा बसेर शीतलताको अनुभुत गर्दै दृश्यावलोकन गर्न चाहनुहुन्छ भने बाल्कोनीमा बस्ने ठाँउको व्यवस्थापन गर्न जरुरी हुन्छ ।
ठाँउ साँघुरो हुने भएकोले रचनात्मक ढंगले त्यसको व्यवस्थापन गर्न सकिन्छ । कुर्सी राख्नुअघि आफ्नो बाल्कोनीमा पानी निकास छ कि छैन हेर्नुपर्छ । त्यसपछि बाहिर राख्न मिल्ने फर्निचरको प्रयोग गर्नुपर्छ, जसले गर्दा बाहिरी मौसमले त्यसमा क्षति पुग्दैन । यस्तै, हलुका खालको प्लास्टिकका कुर्सीको प्रयोग गर्न सकिन्छ जसलाई आवश्यक परेको बेलामा भित्र–बाहिर लैजान सकियोस् ।
बहिरी प्रकासका लागि लाइट जोड्नुहोस्
रातको समयमा आफ्नो बरन्डामा उज्यालो र आकर्षक बनाउनका लागि लाइटहरु राख्नुहोस् । एलईडी लाइटको छनोट उचित हुनसक्छ । लाइट राख्दा सेतो लाइट राम्रो मानिन्छ । त्यसले तपाईको बरन्डाको साथै अन्य स्थानमा पनि प्रकास छर्छ ।