सम्बन्धित विज्ञको डिजाइनमा घरको वायरिङ गर्दा विद्युतीय जोखिमबाट बच्न सकिन्छ । साधारणतया लाइटको सर्किटको लागि १.५ देखि २.५ स्क्वायर एमएम मल्टिएसटेन्ड कपर वायर (फायर प्रुफ वा नर्मल) प्रयोग गर्नुपर्छ । पावर सर्किटका लागि २.५ देखि ४ स्क्वायर एमएमसम्मको फायर प्रुफ वा नर्मल मल्टिसटेन्ट कपर वायर प्रयोग गर्नुपर्ने यादव बताउँछन् ।
घरको बलियो संरचना निर्माणमा जति महत्व दिइरहनु भएको छ त्यति नै विद्युतीय वायरिङमा पनि दिनुहोस् । घरमा भरपर्दो वायरिङ गरेपछि मात्र घर सुरक्षित बन्ने इलेक्ट्रिकल इञ्जिनियर महञ्जी यादव बताउँछन् । सम्बन्धित विज्ञको डिजाइनमा घरको वायरिङ गर्दा विद्युतीय जोखिमबाट बच्न सकिन्छ । साधारणतया लाइटको सर्किटको लागि १.५ देखि २.५ स्क्वायर एमएम मल्टिएसटेन्ड कपर वायर (फायर प्रुफ वा नर्मल) प्रयोग गर्नुपर्छ । पावर सर्किटका लागि २.५ देखि ४ स्क्वायर एमएमसम्मको फायर प्रुफ वा नर्मल मल्टिसटेन्ट कपर वायर प्रयोग गर्नुपर्ने यादव बताउँछन् ।
तार छोप्नका लागि कन्डिक्ट पाइप १६ एमएमदेखि २५ एमएमसम्म (तारको संख्या अनुसार) फायर प्रुफ वा नर्मलमा प्रयोग गर्न सकिन्छ । यादवका अनुसार, आर्थिङको तार राख्दा लाइटिङका लागि १ देखि १.५ स्क्वायर एमएम र पावरका लागि १.५ देखि २.५ स्क्वायर एमएमसम्मको मल्टिएसटेन्ट कपर वायर फायर प्रयोग गर्नुपर्छ । विद्युत डिस्ट्रिब्युसन बोर्डहरु पनि लोड अनुसार राख्नुपर्छ । एमसीबीको छनौट गुणस्तर कम्पनीको गर्नुपर्ने यादवको सुझाव छ । प्राधिकरणको इनर्जी मिटर घरको लोड अनुसारको राख्नुपर्छ ।
घरको वायरिङ गर्दा भविष्यलाई पनि सोँचेर गर्नुपर्छ । अहिले एसी, फ्रिज, भ्याकुम क्लिनर, वासिङ मेसिन, माइक्रोओभन लगायत आधुनिक उपकरणहरु चलाउन हैसियत नभएपनि भोलीका दिनमा हैसियत बन्न सक्छ । त्यो बेलामा कमजोर वायरिङबाट त्यस्ता उपकरण चलाउँदा एमसीबी र तार जल्ने तथा घरमा आगलागीसम्म हुन सक्छ ।
आज हामीले इञ्जिनियर यादवसँग कुराकानी गरेर घरका कोठामा वायरिङ गर्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा सुझावहरु प्रस्तुत गर्दै छौं ।
भान्साको योजना
भान्सामा कुन–कुन उपकरण चलाइन्छ पहिल्यै लोड यकिन गर्नुपर्छ । किचनमा इन्डक्सन चुल्हो, एडजस्ट फ्यान, माइक्रो ओभन, राइस कुकर, डिसवासर, फ्रिज लगायत उपकरण चलाइन्छ । घरमा सबैभन्दा बढी विद्युतको प्रयोग किचनमा हुने इञ्जिनियर यादवको भनाई छ ।
हामीले कुन उपकरण कहाँ राख्ने भनेर पनि पहिचान गर्नुपर्छ । र, उपकरणको लोड अनुसारको सकेट राख्नुपर्ने हुन्छ । जुनसुकै सकेटमा जुनसुकै लोडको उपकरण जोड्दा सकेट बिग्रिने र तार जल्ने सम्भवना बढी हुन्छ ।
भान्छामा पावर सकेट न्यूनतम २० एमपियरको राख्नुपर्छ । लोड अनुसार तारको साइज पनि छनोट गर्नुपर्ने यादव बताउँछन् । भान्छामा धेरै उपकरणहरु प्रयोग हुने भएकोले वायरिङका लागि पनि धेरै राम्रो योजना बनाउनुपर्छ । बैठकसँगै जोडिएको खुला भान्छा छ भने अझ धेरै विचार पुर्याउनुपर्ने यादव सुझाउँछन् ।
बेडरुमको याजना
बेडरुममा बढी लोड तान्ने उपकरण एसी हुन सक्छ । यसका लागि २० एमपपियरको पावर सकेट राख्नुपर्छ । बेडरुममा भ्याकुम क्लिनर वा वाटर हिटर वा पंखा चलाउनका लागि १६ एमपियरको पावर सकेट दुईवटा राख्नुपर्ने यादवको भनाई छ ।
यस्तै, दुईवटा १३ एमपियरको युनिभर्सल पावर सकेट राख्नुपर्छ । एउटा युएसबी पावर सकेट राख्नुपर्छ जसबाट मोबाइल, ल्यापट, म्याकवुक लगायत चार्ज गर्न सकिन्छ । एउटा टिभीको लाइन हुन्छ ।
पछिल्लो समय विभिन्न प्रकारका लाइटहरु आएका छन् । रुमको आकार र प्रकार अनुसार लाइटको सेलेक्सन गर्नुपर्ने यादव बताउँछन् । लाइटको कलर नेचुरल (सनलाइट) कलर राख्नुपर्छ । लाइटका स्वीच न्यूनतम ६ एम्पियरदेखि १० एम्पियरसम्मका जडान गर्नुपर्छ ।
बेडरुममा फुटलाइट राख्दा राम्रो हुने यादवले बताए । भुइँमा राखिने लाइटले राती उठ्दा फ्लोरमात्र उज्यालो हुने भएकोले आँखामा सिधै पर्दैन । बेडरुममा विचार गर्नुपर्ने पहिलो कुरा भनेको बेडको वरिपरि बत्ती राख्नु हो । तपाईलाई बेडसँगै टेलिफोनको लागि वा चार्जिङ पोइन्टको लागि सकेट चाहिन सक्छ । आफ्नो रुममा प्रयोग गरिने विधुतीय उपकरणहरुको जडानको लागि पनि पहिले नै सोँचेर पोइन्टहरुको व्यवस्था गर्नुपर्छ ।
बाथरुमको योजना
पहिले–पहिले बाथरुममा बत्तीमात्र राखिने प्रचलन हुँदा वायरिङमा विशेष ध्यान दिनु आवश्यक थिएन । तर, अहिले प्रविधिको बढ्दो विकास र सुविधाका कारण अनेक प्रकारका उपकरणहरु उत्पादन हुन थालेका छन् । अहिले बाथरुममा प्रयोग गरिने धेरै किसिमका विधुतीय उपकरणहरु बजारमा आएको यादव बताउँछन् ।
बाथरुममा हेयर ड्राइअर, इलेक्ट्रिक टुथब्रस, इलेक्ट्रिक सेभिङ मेसिन, ट्रिमर, स्टिम ड्राइअर, ज्याकुजी लगायत राख्न सकिन्छ । तिनको लागि पर्याप्त मात्रामा इलेक्ट्रिक सकेटको आवश्यकता पर्छ ।
बाथरुमा मोसन सेन्सर लाइटको स्वीच बढी प्रयोग गरिन्छ । त्यहाँ सेभर सकेट, नर्मल सकेट प्रयोग गर्नुपर्ने यादवको भनाई छ । मिरर लाइट पनि राख्नुपर्छ । यस्तै एडजस्ट फ्यान, सिलिङ लाइट पनि राखिन्छ । गिजरको लागि २० एमपियरको पावर सकेट राख्नुपर्ने हुन्छ । बाथरुममा वासिङ मेसिन राखेमा २० एम्पियरकै पावर सकेट चाहिन्छ ।
बाथरुममा इएलसीबी (अर्थलिकेज सर्किट ब्रेकर) प्रयोग गर्नुपर्छ । जमिन वा बाहिरका उपकरणमा करेन्ट सप्लाई आयो भने अर्थलिकेज सर्किट ब्रेकरले सर्किट ट्रिप गरिदिएर दुर्घटना हुनबाट बचाउँछ ।