प्रणालीमा तरला अभाव र बढ्दो ब्याजदरकै बिच पनि कमर्शियल रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा कमर्शियल रुपमा जग्गा खरिद गर्न र प्लटिङमा ८ अर्ब ४ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा रकम गत असार मसान्तको तुलनामा ३१.६ प्रतिशतले बढी हो ।
प्रणालीमा तरला अभाव र बढ्दो ब्याजदरकै बिच पनि कमर्शियल रियलस्टेटमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष ०७८/७९ को १० महिनाको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा कमर्शियल रुपमा जग्गा किन्न र प्लटिङमा दोब्बरभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ । गत आवको साउनदेखि बैशाखसम्म ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
अहिलेसम्म कमर्शियल जग्गा खरिद र प्लटिङमा ३३ अर्ब ५० करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जा गत असार मसान्तसम्ममा २५ अर्ब ४६ करोड २९ लाख रुपैयाँ थियो ।
चालु आवको १० महिनामा व्यक्तिगत आवासियक र रियलस्टेटमा गरी कुल ७६ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये व्यक्तिग आवासियक कर्जातर्फ ३९ अर्ब ८३ करोड र रियलस्टेट कर्जातर्फ ३६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । राष्ट्र बैंकले डेढ करोडसम्मको कर्जालाई व्यक्तिगत आवासिय कर्जामा गणना गर्दै आइरहेको छ ।
१० महिनामा रेसिडेन्सियल रियलस्टेटमा २० अर्ब ९ करोड, कमर्शियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा ६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाको घरजग्गामा कुल कर्जा रकम ५ खर्ब ५८ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जसमध्ये ३ खर्ब ३८ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा र २ खर्ब २० अर्ब रुपैयाँ रियलस्टेट कर्जा प्रवाह भएको छ ।