दुगडले तीन अर्ब रुपैयाँ लगानी गरेर अत्याधुनिक मलसहित लक्जरी होटलको ‘मिक्स प्रोपर्टी’ निर्माण गरेका हुन्, जुन विराटनगरकै आइकोनिक प्रोपर्टी हुनेछ ।
काठमाडौं । देशकै पुरानो व्यापारिक शहर विराटनगरमा पहिलो पाँचतारे होटल ‘र्याडिसन’ सञ्चालनमा आउने भएको छ । उद्योगी मोती दुगडले निर्माण गरिरहेको मलसहितको पाँचतारे होटलको अन्तर्राष्ट्रय चेन होटल ब्रान्ड र्याडिसनले व्यवस्थापन (म्यानेमेन्ट) गर्ने भएको हो ।
धरानरोडमा रहेको भाटभटेनी नजिकै बनिरहेको यो होटल विराटनगरकै पहिलो पाँचतारे होटल हुनेछ । एमाले नेतासमेत रहेका सेञ्चुरी ग्रुपका अध्यक्ष दुगडले पहिलो पटक मोफसलमा यो स्तरको अन्तर्राष्ट्रि चेन ब्रान्ड लैजाँदै छन् । र्याडिसनले सिंगो विराटनगरकै शिर उँचो बनाउने दुगडको विश्वास छ ।
दुगडले तीन अर्ब रुपैयाँ लगानी गरेर अत्याधुनिक मलसहित लक्जरी होटलको ‘मिक्स प्रोपर्टी’ निर्माण गरेका हुन्, जुन विराटनगरकै आइकोनिक प्रोपर्टी हुनेछ । यो प्रोजेक्टभित्र तीनवटा १२ तलाका भवन हुनेछन् । होटेलका लागि छुट्टै र क्यासिनोको लागि छुट्टै ब्लक हुनेछ ।
यो होटलमा एक सय ४६ कोठाहरु हुनेछन् भने भारतीय पर्यटकलाई लक्षित गरेर पूर्ण क्षमताको क्यासिनो सञ्चालन गरिनेछ । होटेलका ग्राहकहरु कर्पोरेट ग्रुप, इन्डियन र तेस्रो मुलुकका पर्यटक हुनेछन् ।
विराटनगरले पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाइनसकेको हुँदा कर्पोरेट ग्रुप र क्यासिनो खेल्न आउने भारतीय नै होटलका मुख्य पाहुना हुनेछन् ।
होटलमा ब्रान्डेड सपसहितको सपिङ मल, रेष्टुराँ, कफी सप, एयरलाइन्स, बैंक, ट्राभल कम्पनीका अफिस, स्वीमिङ पुल, १०-१० हजार क्षमताका विशाल ब्यांक्वेट हल, क्यासिनो, सिनेमा हल, चिल्ड्रेन पार्क, वाटरपार्क लगायत विभिन्न सुविधाहरु उपलब्ध हुने दुगडले बताए ।
होटलमा आउनेले सपिङ एक्सपेरियन्स गर्न पाउनेछन् । र, सिनेमा हेरेर मनोरञ्नन पनि गर्न सक्ने दुगडले बताए । ‘विराटनगर पर्यटकीय गन्तव्य होइन, विराटनगरबाट हिमाल पनि धेरै टाढा छन्, तैपनि मैले विराटनगरमा राम्रो भविष्य देखेरै होटलमा लगानी गरेको हुँ’ उनले भने, ‘देशलाई ८ वटा प्रधानमन्त्री दिइसकेको र ठूला कर्पोरेट हाउस जन्माएको देशकै पुरानो शहर विराटनगरमा धेरै सम्भवना छ, विराटनगरको आफ्नै खालको ग्रोथ छ ।’
यो प्रोजेक्टमा ४० प्रतिशत दुगडको आफ्नै लगानी र ६० प्रतिशत बैंकको ऋण लगानी हुनेछ । होटलको शिभिल निर्माणको काम करिव ९० प्रतिशत सकिएको छ । अहिले विद्युतीकरण, प्लम्बिङ, एसि जडान, लिफ्ट जडान, फायर फाइटिङ, इन्टेरियस डिजाइन लगायतको काम भइरहेको उनले सुनाए ।
अबको १५ देखि १८ महिनाभित्र होटल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसक्ने दुगडको लक्ष्य छ ।
‘विराटनगर मेरो होमटाउन हो, धेरै माया लाग्छ, आफ्नो ठाउँ आफैले विकास गर्नुपर्छ’ उनले भने, ‘त्यसमाथि काठमाडौं–विराटनगर गरिरहने कर्पोरेट ग्रुपलाई पनि विराटनगरमा राम्रो होटेलको खाँचो थियो, त्यसैले पनि पाँचतारे होटल खोल्न कस्सिएको हुँ ।’